अरुणा लामाकाे स्मृति दिवसमा अरुणा लामाद्वारा स्वरवद्ध गीतहरु प्रस्तुत गरीयाे ।

स्वर साम्राज्ञी अरुणा लामाको २० औँ स्मृति दिवस आज भव्य रुपमा मनाइएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा आयोजित एक समारोहमा विविध साङ्गीतिक प्रस्तुतीसहित लामाको सम्झना गरिएको हो ।  'सम्झनाका तरेलीमा अरुणा लामा' नाम राखिएको सो कार्यक्रममा अरुणा लामाद्वारा स्वरवद्ध गीतहरु प्रस्तुत गरिएको थियो । लामाका कालजयी गीतहरुलाई विभिन्न गायिकाहरुले गाएर उनको सम्झाना गरे । उनीहरुको प्रस्तुती निक्कै उत्कृष्ट रहेको थियो । 

संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ वाद्यवाधक शुभबहादुर सुनाम, संगीतज्ञ प्रकाश सायमी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले गायिका अरुणा लामाको व्यक्तिगत जीवनको पाटोको चर्चा गरेका थिए । गायिका लामाको व्यवहारिक जीवन निक्कै दुखद् रहेको तर उनी सधैँ हंसमुख रहने गरेको सुनाए । आफूले अरुणा दिदीसँग लामो समय संगत गरेको स्मरण गर्दै जीवनको कालो पाटोलाई आफ्नै सन्तान र साथीभाइलाई पनि कहिल्यै नदेखाउने खुबी उहाँमा रहेको बताए । संगीतज्ञ प्रकाश सायमीले पनि गायिका अरुणा लामाको व्यक्तिगत जीवन निक्कै कष्टपूर्ण रहेको उल्लेख गरे । वैवाहिक जीवन लामो समय चलाउन नपाई श्रीमानको निधन भएको, एक छोरा र एक छोरी पाल्ने जिम्मेवारी काँधमा आएपछि आर्थिक संकट भोगेको उनले बताए ।

भारतको दार्जिलिङमा जन्मेर पनि नेपाल र नेपाली प्रति गायिका लामाको उच्च सम्मान र माया रहेको उनले बताए । आफू जीवित रहँदा नेपाल सरकारले योगदानको कदर गर्न नसकेको उल्लेख गर्दै उनले मृत्युपछि दिएको सम्मान प्रशंसा योग्य रहेको बताए ।  वक्ताहरुले सांस्कृतिक संस्थानमा राजेश थापा महाप्रबन्धक भएर आएपछि गीत, संगीतको क्षेत्रले पनि प्राथमिकता पाउन थालेको भन्दै उच्च प्रशंसा गरेका थिए । नाचघर सबैको हो भन्ने भावना हराइसकेको उल्लेख गर्दै उनीहरुले महाप्रबन्धक थापाको कारण पुनः यहाँ आउने वातावरण बनेकोमा खुसी लागेको बताए । 

कार्यक्रमका सभापति तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले गायिका अरुणा लामाको स्मृति दिवस मनाउन उपस्थित आगन्तुक र अतिथिहरुलाई हार्दिक धन्यवाद दिए । नेपाली कला, गीत, सङ्गीत, कलाकार र गायक, गायिकाको उच्च सम्मान गर्दै संस्थानले यस्ता कार्यक्रम नियमित रुपमा गर्ने गरेको उनले बताए । गायिका लामाको २०५४ साल माघ २२ गते काठमाडौँमा निधन भएको थियो । उनलाई नेपाल सरकारले स्वर साम्राज्ञीको उपाधि दिएर सम्मान गरेको छ ।