भानुभक्त आचार्यको २०४ औँ जन्मोत्सव मनाईयो 

 सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) र भानु प्रतिष्ठानले भानुभक्त आचार्यको २०४ औं जन्मोत्सवको उपलक्ष्यमा विभिन्न कविहरुका कवितालाई गायन मार्फत प्रस्तुत गरेको थियो । यहि असार ३० गते शुक्रबार अपरान्ह आयोजना गरेको ‘संगीत लहरी’ कार्यक्रममा भानु सहित विभिन्न कविका छन्द कवितालाई गीतको रुपमा गायक गायिकाले प्रस्तुत गरेका थियो । कार्यक्रममा विभिन्न कलाकारले १० ओटा गीत सुनाए । ती सबै गीतहरुमा लोचन भट्टराईले संगीत दिएकी थिईन् । कार्यक्रमको सुरुमा भानुको एक  दिन नारदमुनी... श्लोकलाई नाचघरमा संगीत प्रशिक्षण लिइरहेका कलाकारले लय हालेर गाए । त्यसपछि सो कार्यक्रममा लेखनाथ पौड्यालको चरीको विलाप...लाई लोचन भट्टराईले, महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर...,सिद्धिचरण श्रेष्ठको परिचय...लाई रुपक चौधरीले, राष्ट्रकवि माधव प्रसाद घिमिरेको गोरी...को कव्य हरफ र भानुभक्तका भरजन्म घाँसतिर... लाई नाचघरका प्रशिक्षार्थी कलाकारले गाएर सुनाए । सो कार्यक्रममा प्रभा भट्टराईको कविता छन्द... लाई लोचन भट्टराईले, डा. रामप्रसाद ज्ञवालीको चाहिँदैन... कवितालाई दामोदर अधिकारीले, डा. देबी नेपालको बुद्धको देश... लाई तुलसी पराजुलीले र भानुकै अमरावति कान्तिपुरी... लाई एम्बिसन एकेडेमीका विधार्थीले विभिन्न छन्दमा गाएर सँगीत लहरीको रौनकता बढाएका थिए । कार्यक्रममा प्रधान न्यायधिश गोपालप्रसाद रिमालले अहिलेको अबस्थामा भानुको महत्व बारे चर्चा गर्दै जसरी सँसारमा सूर्यको अस्वित्व हुन्छ, त्यसैगरी नेपालीको लागि भानुको अस्तित्व हुन्छ भने । उनले अहिलेको कर्मचारीका लागि भानुको भोली भोली भन्दा भन्दै बक्सियोस झोली भन्ने श्लोक उत्तिकै आबस्यक भएको स्मरण गराए । 
 
             यस्तै शताब्दी बाङमय पुरुप सत्यमोहन जोशीले नेपाली साहित्यका आदिकवि भानुभक्तको देनले नेपाली साहित्य यहाँसम्म आएको बताए । विभिन्न कविका छन्द कवितालाई निकै मिठो सँगीत र स्वरमा कलाकारहरुले प्रस्तुत गर्न सफल भएको भन्दै सो गायनको जोशीले प्रसँसा गरे । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले दुई वर्ष अघिबाट संस्थानले भानु जयन्तीमा विभिन्न कविहरुको छन्द कविलाई गीतसँगीतमा उतारेर प्रस्तुत गर्दै आएको जानकारी गराए । सबै प्रकारका गीतसँगीतको विकाश र प्रवर्धन गर्नु संस्थानको दायित्व भएकाले छन्द गायनलाई भानु जयन्तीमा प्रस्तुत गरिँदै आएको महाप्रबन्धक थापाले बताए । अग्रज गायिका तथा सो कार्यक्रमकी संगीत संयोजक लोचन भट्टराईले छन्द गायनलाई ताल बादन सहित प्रस्तुत गर्ने क्रममा आफुले ह्स्व, दीर्घ र विश्रामलाई विशेष प्राथमिकता दिएको बताईन् । भानु जयन्ती र भानुको जीवनी बारे सो कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष प्रा. डा. ब्रतराज आचार्यले प्रकाश पारेका थिए ।