राष्ट्रव्यापी खुल्ला दाेहाेरीगीत प्रतियाेगीता भव्यताकाे साथ उदघाटन

             राष्ट्रिय नाचघर जमलमा आज २०७४ असार २० गते देखि राष्ट्रव्यापी खुल्ला दोहोरीगीत प्रतियोगीता शुरु भएको छ । दशैभरीबाट आएका कलाकारहरु वीच खुला प्रतिस्पर्धा हुने सो प्रतियोगीताको उद्घाटन वरिष्ठ लोक गायक कुमार बस्नेतले आज दिप प्रज्वलन गरि गर्नुभयो । पश्चिमको राप्तीदेखि काठमाडौंमा रहेका विभिन्न लोक दोहोरी साँझका सम्मका उत्कृष्ट कलाकारहरुको समेत यस प्रतियोगीतामा सहभागीता रहेको छ । कार्यक्रमको निर्णायकमा वरिष्ठ दोहोरी गायक अम्मर विरही गुरुङ, कृष्ण गुरुङ, खर्क बहादुर बुढा, चन्द्र शर्मा र बन्द्री पराजुली रहेका छन् । यो प्रतियोगितामा देशभरका १७ ओटा लोक दोहोरी प्रतियोगिता समुहले भाग लिएका छन् । जस मध्ये आजको कार्यक्रममा सिर्जना समुह र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नवलपरासी, जुनकिरी दोहोरी साँझ दरवारमार्ग र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, उपत्यका समन्वय समिती, गण्डकी दोहोरी साँझ र अठार मगरात समुह वीच रोचक प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको प्रतिस्पर्धामा आज सिर्जना समुह, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, उपत्यका समन्वय समिती र गण्डकी दोहोरी साँझ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् । उनीहरुबीच लोक दोहोरी गायनका क्रममा एकले अर्कालाई व्याँग्य गर्दै मायाँप्रीति कुरामा घम्साघम्सी चल्दा दर्शकले आनन्द लिएका थिए । यस्तै सो प्रतियोगितामा अतिथि कलाकारका रुपमा बद्री पँगेनी, म्याक्सन खाती, अर्जुन खड्का, जमुना सनम लगायतका कलाकारले पनि दोहोरी भाका सुनाएका थिए । 

              यो प्रतियोगिताको उद्घाटन मँगलबार दिउँसो अग्रज लोक गायक कुमार बस्नेतले गरे । बाल्यकालमा आफु लोक गायनमा लाग्दाको अनुभव सुनाउँदै नेपाली लोक गीत, लोक भाका देशको मौलिक सम्पत्ति भएको बस्नेतले बताए । उनले नेपाली लोक भाकाको विविधताको बारेमा पनि चर्चा गरे । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले लोक संस्कृतिको विकाश गर्न, जगेर्ना गर्नु उदेश्य भएकाले सोही अनुसार लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको बताए । आउँदा वर्षमा राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग सहकार्य गरेर यस्तो प्रतियोगिता गर्ने प्रतिबद्धता जनाए । राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पँगिनीले ढिलै भएपनि सरकारी तबरबाट यस्तो लोक दोहोरी गायन प्रतियोगिता आयोजना गरेर लोक दोहोरीलाई प्रोत्साहन गर्ने काम भएको बताए । उनले यस्ता प्रतियोगिताले लोक दोहोरी गायनमा प्रस्तोसाहन पुग्ने विश्वास व्यक्ति गरे ।  बिहिबारसाँझ सकिने यो प्रतियोगिताको बिजेता समुह पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार, तेस्रो हुने समुहले २५ हजार रुपैयाँ र सान्त्वना हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।