सांस्कृतिक संस्थानमा साहित्यकारहरू भाउपन्थी र हिरण्य भोजपुरे सम्मानित

सांस्कृतिक संस्थान र लघुकथा समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा यी दुई श्रष्टाहरुलाई सम्मान गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले स्रष्टाहरुलाई सम्मान गरे । आख्यानकार भाउपन्थीलाई 'सावित्री–केसर कथा सम्मान' र भोजपुरेलाई 'बाटुली खिलध्वज लघुकथा सम्मान'* प्रदान गरियो । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन' को अध्यक्षतामा भएको कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, सर्वनाम थिएटरका संचालक नाट्यकर्मी अशेष मल्ल लगायत अतिथिको उपस्थिति रहेको थियो । लघुकथा वाचन, मञ्चन तथा स्रष्टा सम्मान' नाम दिइ सांस्कृतिक संस्थानको हलमा आयोजित कार्यक्रममा चारजना लघुकथाकारहरुले लघुकथा वाचन पनि गरेका थिए । हिरण्य भोजपुरेको लघुकथा 'सहमति' शीर्षकको लघुनाटक मञ्चन गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । 

'सावित्री–केशर कथा सम्मान' बाट सम्मानित कथाकार भाउपन्थी पिता चूडामणि शर्मा खनाल र माता लक्ष्मीदेवी खनालबाट वि.सं. २००१ सालमा जन्मिएका हुन् । उनको वास्तविक नाम तिलकप्रसाद शर्मा खनाल हो । वि.सं. २०२२ देखि साहित्य लेखनमा निरन्तरता दिइरहेका स्रष्टा भाउपन्थीका एउटा आकारको बारेमा, सम्बन्ध, सत्ताच्युत र अरु कथाहरु, अद्यापि र अरु कथाहरु, नदी पनि सुत्छ, इश्वर पनि सुत्छ नामक कथाकृतिहरु प्रकाशित छन् । यसबाहेक उनका केही उपन्यास एवम् व्यङ्ग्य कृति पनि प्रकाशित छन् । स्रष्टा भाउपन्थी मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार २०५३, हासने पुरस्कार, शङ्कर कोइराला कथा सम्मानका साथै नेपाली साहित्यमा नारी विषयक चित्रणका लागि सम्मानीत भइसकेका छन् । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यका रुपमा वि.सं. २०६०–२०६६ सम्म कार्य गरिसकेका छन् । 


बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७४' बाट सम्मानित साहित्यकार हिरण्य भोजपुरेको वास्तविक नाम हिरण्यप्रसाद श्रेष्ठ हो । उनी पूर्वी नेपालको मुन्डाघर देउराली, भोजपुरमा लक्ष्मीदेवी श्रेष्ठ एवम् चण्डीप्रसदा श्रेष्ठका सुपुत्रका रुपमा वि.सं. १९९९ सालमा जन्मिएका हुन् । नेपाली र राजनीतिशास्त्रमा एम.ए. गरेका भोजपुरेले नेपालको प्रशासनिक क्षेत्र एवम् सञ्चार क्षेत्रमा लामो समय काम गरिसकेका छन् ।

नेपाली गीत, सङ्गीत र साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिया भोजपुरेले 'लेकाली' साङ्गीतिक समूहका माध्यमबाट नेपाल राष्ट्रलाइृ महत्त्वपूर्ण योगदान दिएका छन् । नेपाली साहित्यका क्षेत्रमा उपन्यास, कथा, लघुकथा, निबन्ध, संस्मरणका साथै लघुकथा विधामा समेत कलम चलाएर एक दर्जन जति कृति प्रकाशित छन् । उनको 'जङ्घारहरु' नामक लघुकथा कृति प्रकाशित छ ।