विश्व संगीत दिवस भव्यताको साथ मनाईयो

सांस्कृतिक संस्थानको आफ्नै प्रेक्षालयमा विश्व संगीत दिवसको अवसरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका लोक भाका गुञ्जियो र विधिव सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरियो । विश्व संगीत दिवस अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल सांगीतिक संघले गरेको कार्यक्रम सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनज्यूको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता मिलन मोक्तानले गर्नु भएको थियो भने कार्यक्रमका संगीत क्षेत्रका अग्रज श्रष्टा तथा कलाकारहरुको पनि बाक्लो उपस्थिति थियो ।कार्यक्रममा शास्त्रीय देखि लोक, आधुनिक संगीतका साथै नृत्य प्रस्तुति समेत गरियो । नेपाल आर्मीको व्याण्डको अर्केष्ट्राबाट प्रस्तुति थालिएको कार्यक्रममा चर्चित गायिका लोचन भटट्राईको नेतृत्वमा संस्थानमा गायन प्रशिक्षण लिइरहेको २१ औं समुहको प्रशिक्षार्थीको टोलीले राष्ट्रिय भावनाले ओतप्रोत गीत “भन्छिन करुण पुकारी, नेपाल भूमि आमा”  प्रस्तुत गरिएको थियो । भटट्राईकै संगीत रहेको गीतमा शब्द भने कवि भद्र कुमारी घलेको रहेको थियो । यसपछि साधना कला केन्द्रका कलाकारहरुले भैरवकाली शास्त्रीय नृत्य गरे । गुरुदेव कामदले “किन गयो परदेश” लाई ठुमरी स्वादमा प्रस्तुत गरेका थिए । कार्यक्रममा सांस्कृतिक संस्थानका वाद्यवादक कलाकारहरु कृष्ण बहादुर गुरुङ्ग, खड्क बुढा, भगीरथ सुस्लिङ, भरत लाखे, लोकराज राई, आकाश गोर्खाली, नरसिंहलाल श्रेष्ठ आदी कलाकारहरुले मिठो वाद्य लोकधुन प्रस्तुत गरेका थिए । साधना कला केन्द्रका कलाकारहरुले “रातो र चन्द्र सुर्य” र संस्थानका नृत्यकलाकारहरुले “शिरको टोपी सगरमाथा पहाड मेरो छाती” गीतमा आफ्ना नृत्य कौशल प्रस्तुत गरेका थिए । यसका साथै आनन्द कार्की, भगीरथ चलाउने, अशोक राई, रुपक चौधरी, मनीषा पोखरेल, जुना प्रसाई, निशा लिम्बु, श्रीजु अधिकारी, धिरज राई आदी कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो । 
          
         सांगीतिक कार्यक्रमका साथै संगीत र पत्रकारीता क्षेत्रमा योगदान पुर्याएका गीतकार डा. रामविक्रम सिजापती, संगीतकार जगतमर्दन थापा, गायक जेवी टुहुरे, शास्त्रीय गायिका इन्दिरा श्रेष्ठ, वाद्यवादक किशोर गुरुङ, नृत्यांगना हनी श्रेष्ठ, वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ र गाय सिताराम पोखरेललाई सम्मान गरीएको थियो ।