सांस्कृतिक संस्थानको परिचय

नेपाली नाटक, गीत, संगीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले २०१६ सालमा अवधारणा तयार भई २०१८ सालमा राष्ट्रिय नाचघर स्थापना भएको हो । २०२९ सालसम्म राष्ट्रिय नाचघर, कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग त कहिले प्रसार विभागअन्तर्गत रह्यो । राष्ट्रिय नाचघरलाई सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत २०२९ असार ५ गते सांस्कृतिक संस्थानका रुपमा आधिकारिक रूपमा गठन गरिएको हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यस संस्थानले अनेक आरोहअवरोह पार गर्दै एउटा जीवन्त इतिहास बनाएको छ ।
संस्थानले लोकनाटक, लोकगीत, लोकसंगीत र लोकनृत्यलगायत समग्र लोकसंस्कृतीको संस्थागत विकास, विस्तार, संरक्षण एवं प्रवद्र्धनका लागि खोज अनुसन्धान, प्रस्तुती, मञ्चन, प्रहसन, दस्तावेजीकरण गर्नुका साथै विभिन्न विधामा कलाकार प्रशिक्षणसमेत दिँदै आएको छ । राज्यको महत्वपूर्ण कार्यक्रम, समारोह, पर्व एवं अन्य विशेष अवसरमा सांस्कृतिक कार्यक्रम तयार गरी प्रस्तुत गर्दै आएको छ भने समय समयमा विभिन्न विषयमाथी नाटक तयार गरी मञ्चन पनि गर्दै आएको छ । संस्थानले आफ्नो लक्ष्य र उद्देश्य मिल्ने सरकारी एवं गैरसरकारी निकायसँग समन्वय र सहकार्यमा नियमित कार्यक्रम गर्दै आएको छ । त्यसैगरी लोपोन्मुख लोकसंस्कृति प्रवद्र्धनका लागि बुलेटिन, स्मारिका, हाम्रो संस्कृति बुलेटीन, मुखपत्र पनि प्रकाशन गर्दै आएको छ ।
कलाकर्मीको विकास, उनीहरुको प्रतिभा उजागर एवं अवसर प्राप्तीका लागि आकर्षक गन्तव्यका रुपमा स्थापीत संस्थानमा कार्यरत कलाकार एवं यहाँबाट प्रशिक्षित नयाँ प्रतिभाले अभिनय, चलचित्र, नाट्य, गायन, बाद्यवादन क्षेत्रमा लोभलाग्दो स्थान बनाएका छन् ।

सांस्कृतिक संस्थानमा हालसम्म इन्द्रप्रसाद काफ्ले, नारायण गोपाल, गणेश रसिक, रमेश ताम्राकार, नारायणभक्त श्रेष्ठ (रायन), हरिहर शर्मा, लक्ष्मण रायमाझी, भूपाल राई, नरेश पौडेल, शालिकराम तिमल्सिना, राजेश थापा अशोककुमार राईले महाप्रबन्धकका रुपमा संस्थानको नेतृत्व समालीसक्नुभएको छ । २०८० माघ ०८ गतेदेखि किरण बाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धक हुनुहुन्छ । एकदेखी नवौं तहसम्मका ५३ जना कर्मचारीको दरबन्दी रहेको संस्थानको प्रधान कार्यालय काठमाडौंको जमलमा रहेको छ ।

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्