बुद्ध थिएटर फेस्टिभलको आकर्षण


काठमाडौं :- गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत विश्वमाझ पुर्याउने उद्देश्यका साथ संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा ‘बुद्ध थिएटर फेस्टिभल’ आयोजना हुँदै आएको छ । 
सन् २०२१ देखि सुरु भएको महोत्सवको दुई संस्करण सम्पन्न भइसकेको छ भने तेस्रो संस्करणको तयारी भइरहेको छ । २०७९ वैशाख २ गतेदेखि एक सातासम्म चलेको महोत्सवमा बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भगवान गौतम बुद्धको जीवन दर्शनलाई आत्मसात् गर्नेहरूको संख्या संसारमा धेरै भएकाले नेपालको पर्यटन विकास र बुद्ध नेपालमा जन्मेको हो भन्ने सत्य स्थापित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘बुद्ध थिएटर फेस्टिभल नेपालमा आयोजना हुनु गौरवको विषय हो’, तत्कालीन मन्त्री श्रेष्ठले भन्नुभयो ।
‘बुद्ध थिएटर फेस्टिभल २०२२’ एक सातासम्म चलेको थियो । महोत्सवमा शारदा शर्माको उपन्यास ‘ताप’माथि पुष्कर गुरुङको परिकल्पना तथा निर्देशनमा नाटक ‘ताप’, पार्वती ज्ञवालीको लेखनमा वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा नाटक ‘तथागत बिज’, अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा नाटक ‘बुद्ध र भिखारी’ र दीपेन्द्र बज्राचार्यको लेखन एवं शारदा सिलवालको निर्देशनमा ‘बोधी यात्रा’ मञ्चन गरिएको थियो ।
महोत्सवप्रति नाट्यकर्मी र दर्शकको आकर्षणले उत्साहित बनाएको सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले बताउनुभयो । ‘बुद्ध थिएटर फेस्टिभलले उठान गरेका विषय रंगकर्ममात्र नभएर नेपालको राष्ट्रिय पहिचान र पर्यटन विकाससँग पनि जोडिएको छ’, महाप्रबन्धक राईले भन्नुभयो, ‘महोत्सवप्रति रंगकर्मी तथा दर्शकको उत्साहपूर्ण सहभागिताले हामीलाई हौसला मिलेको छ ।’
फेस्टिभल डाइरेक्टर पुष्कर गुरुङले यस महोत्सवमा मञ्चन भएका नाटकमा नेपाली माटोको सुवास आउने बताउनुभयो । ‘संसारले बुद्धलाई कसरी चिन्छन्, कसरी बुझ्छन् भन्ने कुरा रंगमञ्चमा प्रस्तुत गर्न महोत्सव आयोजना गरिएको हो’, गुरुङले भन्नुभयो, ‘महोत्सवको आगामी संस्करण विभिन्न मुलुकको सहभागितासहित अझ भव्य रूपमा आयोजना हुनेछ ।’

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्