२९औं ब्याजमा डेढसय विद्यार्थी दीक्षित 

काठमाडौं:- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सांस्कृतिक संस्थान सबै नेपालीको साझा संस्कृतिको फूलबारी बन्नुपर्ने बताउनु भएको छ ।  संस्थानद्वारा आयोजित ‘वसन्त शास्त्रीय उत्सव २०७९’ तथा कलाकार प्रशिक्षणअन्तर्गत २९औं ब्याजका प्रशिक्षार्थीको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री किरातीले भन्नुभयो, ‘राजा महाराजाले एउटा मूल्यमा स्थापना गरेको यो संस्था अहिले गणतान्त्रिक संस्कृतिमा रूपान्तरित भएको छ । यो संस्था सबै नेपालीको साझा संस्कृतिको थलो बन्नुपर्छ ।’
संस्थानद्वारा सञ्चालित अभिनय, नृत्य, गायन तथा वाद्यवादन विधामा ६ महिना प्रशिक्षण लिएका विद्यार्थीको दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूको आकर्षक प्रस्तुति पनि रहेको थियो । सबै विधाका गरी लगभग डेढ सय विद्यार्थीलाई समारोहमा प्रमाणपत्रसहित दीक्षित गरिएको थियो । संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोकप्यासी राईले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा अभिनयका प्रशिक्षार्थीद्वारा नाटक ‘शंखघोष’ मञ्चन गरिएको थियो । वरिष्ठ नाट्यकर्मी वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशन रहेको नाटक हेरेपछि मन्त्री किराती, राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलगायतले प्रशंसा गर्नुभएको थियो । राज्यमन्त्री ठकुरीले नेपाली संस्कृतिको जगेर्ना र प्रवद्र्धनमा सांस्कृतिक संस्थानको ठूलो योगदान रहेको बताउनुभयो ।
संस्थानका महाप्रबन्धक अशोककुमार राईले कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै पछिल्लो समय संस्थान लक्ष्य र उद्देश्यमा आधारित परिणाममुखी काममा लागेको बताउनुभयो । ‘वर्तमानमा गरेका नीतिगत निर्णय र कामहरू भविष्यमा संस्थानका लागि तागत बन्नुपर्छ’, महाप्रबन्धक राईले भन्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा स्थापित कलाकारको शास्त्रीय नृत्य तथा वाद्यवादन प्रस्तुतिले वशन्त शास्त्रीय उत्सव रंगीन बनेको थियो । सन्तोषभक्त श्रेष्ठको ईश्राजवादन, सुलोचना गोपालीको भरत नाट्यम जति आर्कषक थियो पं. विष्णुप्रसाद आचार्यको ध्रुपद गायन त्यत्तिकै रोमाञ्चक थियो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति केके कर्मचार्यलगायतले दीक्षित भएका विद्यार्थीको प्रस्तुतिको प्रशंसा गर्नुभयो । सो अवसरमा प्रा. श्रीराम आचार्य र सहप्रा. सरोजनी तण्डुकारद्वारा लिखित पुस्तक ‘संगीत मन्थनाञ्जली’ पनि विमोचन गरिएको थियो ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्