कञ्चनपुरमा कला कार्यशाला

कञ्चनपुर:- सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सवको अवसरमा सुदूरपश्चिमको कञ्चनपुरमा सप्ताहव्यापी कलाकार प्रशिक्षण कार्यशाला आयोजना गरिएको छ । सांस्कृतिक संस्थान र महाकाली साहित्य संगमको संयुक्त आयोजना, राष्ट्रिय लोकसांस्कृतिक प्रतिष्ठान नेपालको सहआयोजना एवं भीमदत्त नगरपालिका–१ स्थित शिखर एकेडमीको स्थानीय व्यवस्थापनमा भएको कार्यशालामा सांस्कृतिक संस्थानका प्रशिक्षकले गायन, नृत्य, बाँसुरी तथा मादलवादनमा प्रशिक्षण दिएको थियो ।
२०७९ पुस ९ देखि १५ गतेसम्म चलेको कार्यशाला उद्घाटनमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी, महाकाली साहित्य संगमका अध्यक्ष हरिशप्रसाद जोशी, भीमदत्त नगरपालिका वडानम्बर १ का अध्यक्ष आसिफ कुँवरलगायत सहभागी हुनुहुन्थ्यो । 
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति जोशीले यस्तो प्रशिक्षणले कला क्षेत्रमा लागेका र लाग्न चाहनेहरूको दक्षता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । महाकाली साहित्य संगम केन्द्रीय समितिका सदस्य अर्जुनसिंह नेगीले उद्घाटन समारोहका संगमको गतिविधि र कार्यशालाको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।
कार्यशालामा केशवराज राईले नृत्य, दुर्गाप्रसाद खतिवडाले बाँसुरी, तीर्थराज पोखरेलले गायन र दीपेन्द्र बज्रचार्यले मादलवादनमा प्रशिक्षण दिनु भएको थियो । बाँसुरी वादनतर्फ सुशीलकुमार भट्ट, लक्ष्मीप्रसाद भट्ट, नारायणदत्त भट्ट, मानप्रसाद भट्ट, आशुतोष जोशी, जयन्द्र साउद, चिना नेपाली, अभिषेक चन्द र सुरेश चन्द सहभागी हुनु भएको थियो ।
नृत्यमा पदम ओझा, वसन्ती भट्ट, गीता बम, मञ्जु भट्ट, सरस्वती भट्ट, जानकी चन्द, देवकी भट्ट, द्रौपदी जोशी, झरना आग्री, सविना जोशी, कमला भट्ट, शारदा शर्मा, मीना भट्ट, मनिषा जोशी, आशा शाह, मनोज भट्ट, लक्ष्मी जोशीलगायत हुनुहुन्थ्यो । 
गायनतर्फ विमला भट्ट, सीता कोहली, शारदा शर्मा, दुर्गा नेपाली, भागीरथी भट्ट, योगेन्द्रप्रसाद भट्ट, नरेशसिंह साउद, पवनकुमार पनेरु, गोपालसिंह धामी, रामदत्त बिष्ट, रामबहादुर सार्की, लक्ष्मी पाण्डे, ममता पाण्डे जोशी, भुवनेश्वरी जोशी, सावित्री भट्ट, चन्द्रा गिरी, निर्मला जोशी, मीरादेवी वली र लक्ष्मी पाण्डे शाहले प्रशिक्षण लिनुभएको थियो ।
स्थानीय चाड पुसे पन्नरको अवसर पारेर २०७९ पुस १५ गते भएको कार्यशाला समापन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई, भीमदत्त नगरपालिकाका उपमेयर नीलम लेखक, महाकाली साहित्य संगमका अध्यक्ष हरिशप्रसाद जोशीलगायतको उपस्थिति रहेको थियो । 
सो अवसरमा कार्यशालमा सहभागीहरूले आआफ्नो विधामा प्रस्तुति दिएका थिए भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यशालालाई भीमदत्त नगरपालिका कञ्चनपुरले साथ दिएको थियो ।
प्रशिक्षणका लागि कञ्चनपुर गरेका संस्थानका कलाकारले राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको संयोजनमा पुस १३ गते कालिका मन्दिर अत्तरिया, पुस १५ गते बिहान राधाकृष्ण मन्दिरमा आयोजना भएको भक्ति संगीत कार्यक्रममा रोमाञ्चक प्रस्तुति दिएका थिए ।
पुस १४ गते विद्यालयको अनुरोधमा सांस्कृतिक संस्थानका प्रशिक्षकहरूले लिटिल बुद्ध एकेडेमी स्कुलका १५ सय विद्यार्थीलाई संगीत तथा नृत्यसम्बन्धी एकदिने प्रशिक्षण दिएका थिए । कार्यशाला व्यवस्थापनमा सांस्कृतिक संस्थानका प्रशासन प्रमुख पवित्रा पंगेनी, सांस्कृतिक अभियन्ता लीला बाँस्कोटा र ईश्वरा आचार्य हुनुहुन्थ्यो ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्