सभामुखबाट भएको विशेष सम्बोधन

सांस्कृतिक संस्थानको ५१औं वार्षिकोत्सव समारोहका अध्यक्ष, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यू,

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू, उपकुलपतिज्यू ,

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू, उपकुलपतिज्यू ,

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू, उपकुलपतिज्यू ,

            यस क्षेत्रमा लामो योगदान गरेर आउनु भएका भूतपूर्व वर्तमान प्राज्ञज्यूहरू आजको ५१औं वार्षिकोत्सव कार्यक्रममा उपस्थिति हुनुभएका कलाकार दाजुभाइ तथा दिदीबहिनी एवं मैले मान्नुपर्ने आदरणीय मान्यजनहरू

नेपालको इतिहास, नेपालको प्रगति नेपालको अग्रगतिको लागि परिवर्तनका विभिन्न घटना प्रक्रियामा सांस्कृतिक संस्थानको एउटा आफ्नै खालको ऐतिहासिक महत्व भन्ने मलाई लाग्छ यो संस्थान विधिगत रूपबाट स्थापना भएको ५१औं वर्ष भइसक्यो यही रूपमा नभए पनि यो नामबाट स्थापित भएको यो संस्थाले देशलाई अरू समृद्ध बनाउन, आकर्षक राष्ट्रको रूपबाट चिनाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको

राजनीतिमा भएको परिवर्तनसँगै यसको व्यवस्थापनमा पनि परिवर्तन हुने गरेको हामी सबैको प्रिय गायक नारायणगोपालले नेतृत्व गर्ने कुरादेखि विभिन्न कालखण्डमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका व्यक्तित्वहरूले यसको नेतृत्व गर्दै आउनु भएको छ। अहिले पनि परिवर्तनको सन्दर्भमा यस क्षेत्रका लागि महत्वपूर्ण योगदान गर्नुभएका साथीहरूले नेतृत्व गरिरहनुभएको छ ।

पुरानो राष्ट्रिय नाचघरलाई सांस्कृतिक संस्थान बनाई सकेपछि न्यूनतम पनि यसले नाटक, साहित्य र कला देखाउन सानो भए पनि ठाउँको अभाव पूर्ति गरेको छ। यस संस्थानले राष्ट्रव्यापी रूपबाट हाम्रो संस्कारको विकास गर्ने, संस्कृतिको विकास गर्ने, कलाहरूको विकास गर्ने र खासगरी राष्ट्रको विकास गर्ने कुरामा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ।

भर्खरै स्वागत मन्तव्य दिने सन्दर्भमा यस संस्थानका महाप्रबन्धकज्यूबाट आएको अभिव्यक्तिबाट एक प्रदेश एक स्थानीय तह नमुना कार्यक्रमबाट उहाँहरूले योजना बनाएर नयाँ ढंगले काम गरिरहनु भएको छ। हाम्रा पुराना भाकाहरू, लोक साहित्यहरू, लोकगीतहरू, लोकनृत्यहरू, लोक परम्पराहरू, विभिन्न जनजातिका ऐतिहासिक रूपबाट विकास भएका संस्कार र संस्कृतिहरूको जगेर्ना गर्ने, एक सूत्रमा त्यसलाई ल्याउने र राष्ट्रव्यापी रूपबाट प्रचार गर्ने क्रममा यस संस्थानले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

यसको व्यवस्थापनमा रहेका समस्या, यसभित्रका आर्थिक एवं स्रोतसाधनका समस्याहरूका बाबजुद पनि यसले प्रगति गर्दै आइरहेको छ। अनेकताभित्रको एकतालाई विकास गर्दै आएको नेपाल गरिबी र अभावका बाबजुद पनि विभिन्न जातजाति, संस्कार एवं संस्कृतिमा सम्पन्न मुलुक हो । यसका आफ्नै खाले संस्कृति, परम्परा र मर्यादाहरू छन् । ती मर्यादाहरूलाई विकास गर्न र राष्ट्रिय उत्सवहरूमा प्रदर्शन गर्न खासगरी लोकभाका, लोकसाहित्य, लोककला, लोकनृत्यलाई विकास गर्ने काममा यस संस्थानले महत्वपूर्ण योगदान प्रदान गर्दै आएको छ ।

आगामी दिनमा पनि यसको अगाडि चुनौतीहरू छन् । लोप हुन लागेका हाम्रा राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्ने, एउटा अनुशासनमा बाँधिएको संस्कृति विकास गर्ने, ठूलालाई कदर गर्ने, सानालाई माया गर्ने संस्कृतिको विकास गर्नु छ । हिजोको राष्ट्रिय नाचघर विकासित हुँदै यी सबै कुराहरूको आवश्यकता पूर्ति गर्न अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व पाएको छ ।

संस्कृतिलाई विकास गर्ने सन्दर्भमा प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू आएर देशव्यापी रूपमा यहाँ आउनु भएका कलाकार जसले कला साहित्य संस्कृति र खासगरी संस्कारहरूको विकास गर्दै आउनु भएको छ। उहाँहरूको कलालाई हेर्ने, सम्मान गर्ने, उत्साह प्रदान गर्ने र यो संस्थानका समस्यालाई हामीसँगै बसेर सुन्न देख्न पाएको भए अझ राम्रो हुन्थ्यो । तर कार्य व्यस्तताले उहाँहरू आउन सक्नु भएन ।

यहाँहरूको अनुरोधलाई अस्वीकार गर्न नसकेर म पनि एउटा प्रतिकूलताकै बीचबाट यहाँहरूको बीचमा आएर मेची, महाकाली, हिमाल, पहाड, तराई सबै ठाउँको कला प्रदर्शन हुने, कलाकारसँग भेट हुने र मैले चिनेका पुराना तथा नयाँ सबै साथीहरूसँग हातेमालो गर्ने अवसर मिल्यो । म यहाँ लामो समय बस्न सक्ने अवस्था नरहे पनि मलाई प्रमुख अतिथिको रूपमा बोलाउनु भयो । शुभकामना मन्तब्य राख्ने मौका दिनुभयो । आफ्नो क्षेत्रमा धेरै योगदान पुऱ्याउनु भएका प्रतिष्ठित प्राज्ञहरू, मित्रहरू, दाजुभाइ तथा बहिनीहरूलाई सम्मान गर्ने अवसर मिल्यो ।

म यस अवसरमा के भन्न चाहन्छु भने विगतमा यहाँहरुले पुऱ्याएको योगदानबाट अरूले पनि यस क्षेत्रमा धेरै काम गर्ने हौसला मिलोस् ।

अन्त्यमा ५१औं वार्षिकोत्सवले सांस्कृतिक संस्थानलाई नमुना योग्य संस्थानको रूपबाट विकास गर्न प्रेरणा मिलोस् यही शुभकामनासहित मलाई निम्तो गर्नु भएकोमा आयोजकलाई धन्यवाद दिँदै मेरो शुभकामना मन्तव्य अन्त्य गर्दछु, धन्यवाद ।

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्